नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ । सोमपाललाई गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो।

नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको वृद्धि र विकास हुने विश्वास लिइएको गीता एभिएसनका महाप्रबन्धक अच्युत गुरागाईंले बताएका छन् ।

गीता एभिएसन पाईलट ट्रेनिङ, क्याबिन ट्रेनिङ र उडान क्षेत्रका सम्पूर्ण ट्रेनिङ गराउने संस्था हो ।

नेपालले आउँदो जुनमा हुने टि ट्वान्टी विश्वकप खेल्दै गर्दा सोमपाल दुवैपटक विश्वकप खेल्ने टोलीका एक मात्र खेलाडी हुन्। नेपाली टोलीले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टि ट्वान्टी विश्व कप खेलेको थियो । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका सोमपाल यसपटक सबैभन्दा अनुभवी खेलाडीको भूमिकामा रहेका छन् । सोमपाल अहिले पनि टोलीको मुख्य बलरको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

हालसम्म नेपालले ८५ टि ट्वान्टी आई खेल्दा सोमपालले त्यसमध्य ६५ खेल खेलेका छन् । यसबीचमा चोटका कारण सोमपाल केही समय टोलीबाहिर पनि रहनुपरेको थियो । सन् २०२२ को विश्वकप छनोट नै गुमाएका उनले त्यसयता भने नियमित खेलिरहेका छन् ।

नेपाली टोली आज वेस्ट इन्डिज ए विरुद्ध पाँचौं खेल खेलेपछि वेस्ट इन्डिज तर्फ प्रस्थान गर्नेछ । नेपाली टोलीको हिजो नै भव्यताका साथ नेपाल क्रिकेट संघ (क्यान) ले विदाई गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *