दुर्लभ इतिहास बनाउँदै म्यानचेस्टर सिटीले लगातार चौथो वर्ष इ‌ङ्लिस प्रिमियर लिग जितेको छ। इतिहाद स्टेडियममा आइतबार राति सम्पन्न खेलमा पाहुना टोली वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो।

इ‌ङ्लिस फुटबलको १३६ वर्षको इतिहासमा कुनै पनि टोलीले लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्न सकेको थिएन। तर, उक्त दुर्लभ इतिहास सिटीले बनायो। सिटीको यो १०औं प्रिमियर लिग उपाधि हो। सिटीले यसअघि सन् २०२१ (८६ अंक), २०२२ (९३ अंक) र २०२३ (८९ अंक) मा उपाधि ‘ह्याट्रिक’ गरेको थियो। पुनः उपाधि जितेको सिटीले यसपटक ३८ खेलबाट ९१ अंक जोड्यो।

सिटीलाई उपाधि दिलाउन फिल फोडेनले २ तथा रोड्रीले १ गोल गरे। वेस्टह्यामका मोहम्मद कुदुसले गोल फर्काएपनि सिटी खेलमा रोकिएन। खेलको दोस्रो मिनेटमै फोडेनले गोल गर्दै सिटीलाई शुरूआती अग्रता दिलाएका थिए। उनले बर्नार्डो सिल्भाको पासमा गोल गरे।

१८औं मिनेटमा जेरेमी डोकुको पासमा फोडेनले नै गोल गर्दै सिटीको अग्रता २-० मा पुऱ्याए। तर, ४२औं मिनेटमा कुदुसले गोल गर्दै वेस्टह्यामलाई २-१ को स्थितिमा ल्याए।

५१औं मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै सिटीलाई ३-१ को स्थितिमा पुऱ्याए। ८९औं मिनेटमा थोमस सुसेकले गोल गर्दै वेस्टह्यामलाई ३-२ को स्थितिमा ल्याएका थिए। तर, भिडियो असिस्टेन रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन। भीएआरले गोल भएको बल सुसेकको हातमा लागेर गएको देखाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *