क्रिकेटका अर्जुन कुमाल र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापामगर पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको आठौं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा पुरुषतर्फ अर्जुन र महिलातर्फ सुस्मिता वर्ष खेलाडी घोषित भएका हुन्। दुवैले स्कुटर प्राप्त गरेका छन्।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको मनोनयनमा अर्जुनसहित भलिबलका हिमाल सुनारी र टेनिसका प्रदीप खड्का थिए भने महिलामा सुस्मितासहित आर्चरीकी अनुस्का शेरचन र भलिबलकी अरुणा शाही थिए।

उत्कृष्ट प्रशिक्षकको अवार्ड भलिबलका रमेश केसीले प्राप्त गरे। उनले ३५ हजारसहित ट्रफी प्राप्त गरे। १७ वर्षमुनिका खेलाडीबीच प्रतिस्पर्धा हुने उदीयमान खेलाडी विधाको अवार्ड ब्याडमिन्टनकी दिलासा रानामगरले प्राप्त गरेकी छिन् ।

कार्यक्रममा एथलेटिक्सका प्रशिक्षक इन्द्रा मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्म्मान गरिएको छ भने वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्डबाट सहारा क्लब पोखरा सम्मानित गरियो।

वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्डबाट पत्रकार रोहितराज पराजुली सम्मानित भए। सो अवसरमा ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तर्राष्ट्रिय वरियता प्राप्त खेलाडी अभिषेक बाँस्तोलालाई विशेष सम्मान प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *