इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतवार साँझ भएको खेलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले टोटेनहम हटस्परलाई ४-२ ले पराजित गरेको हो ।

खेलको १६ औं मिनेटमा मोहम्मद सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। कोडी गाक्पोको क्रसमा सालाहले हेडर मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा लिभरपुलका लागि एन्ड्रयु रोबर्टसनले दोस्रो गोल गरे । ट्रेन्ट अलेक्ज्याण्डर अर्नोल्डको पासमा सालाहको प्रहार टोटनहमका गोलकिपर भिकारियोले बचाएपछि रोबर्टसनले गोल गरेका थिए ।

५० औं मिनेटमा गाक्पोले लिभरपुलका लागि तेस्रो गोल गरे । उनले हार्वी इलियटको पासमा सहज गोल गरेका थिए ।५९ औं मिनेटमा इलियटको गोल गर्ने पालो थियो ।सालाहको पासमा इलियटले बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै स्कोरलाइन ४-० बनाएका थिए ।

टोटनहमले खेलमा पुनरागमन गर्ने प्रयासमा चार गोलले पछि परेपछि दुई गोलले भने फर्काएको थियो । ७२औ मिनेटमा ब्रेनन जोनसनको क्रसमा गोल गर्दै रिचार्लिसनले एक गोल फर्काए । ७७औ मिनेटमा स्पर्सका कप्तान सन ह्युङ-मिनले दोस्रो गोल गरे । तर खेल स्पर्सको हातबाट निकै टाढा गइसकेको थियो ।

लिभरपुल ३६ खेलबाट ७८ अंकका साथ लिगको तेस्रो स्थानमा छ भने ३५ खेलबाट ६० अंक जोडेको टोटेनहम पाँँचौ स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *