गोदावरी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम उपत्यकाब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधी काठमाडौं महानगरपालिकाले जितेको छ।

गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा शनिबार सम्पन्न खेलमा चन्द्रागिरि नगरपालिकालाई २–१ गोल अन्तरले हराउँदै काठमाडौं महानगरले उपाधी जितेको हो। काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले १-१ गोल गरे ।

उपाधीसँगै काठमाडौंले ५ लाख नगद र कप पनि जितेको छ । यसैगरी उपविजेता बनेको चन्द्रागिरीले ३ लाख नगद पुरस्कार पाएको छ । फाइनल खेलमा म्यान अफ दि म्याच काठमाडौंका अखिलेष भए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए । उनले ३० हजार नगद पुरस्कार पाए । अनुशासित टिम बनेको महालक्ष्मी नगरपालिकाले ५० हजार नगद पायो ।

प्रतियोगितामा सबैभन्दा बढि गोल कीर्तिपुरका यमन मर्हजनले गरे । क्वाटरफाइनलमै हारेको टिमका लागी ६ गोल गरे । तारकेश्वर नगरपालिका विरुद्ध ह्याट्रिक गरेका उनले क्वार्टरफाइनलमा मध्यपुर थिमी नगरपालिकाबिरुद्ध पनि ह्याट्रिक नै गरे ।

प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरी बि टिमका पासाङ तामाङले जिते भने उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी भए ।

उत्कृष्ट डिफेन्डर चन्द्रागिरीका साहिल राना हुँदा उत्कृष्ट प्रशिक्षकको पुरस्कार काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपाने भए ।

उत्कृष्ट गोलकिपर, डिफेन्डर, फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पाएका थिए ।

चन्द्रागिरी, महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौं, मध्यपुर थिमि नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए ।

वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुबै सेमिफाइनलका खेल च्यासल मैदानमा खेलाईएको थियो ।

गत बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले यो प्रतियोगितामा प्रतिस्पर्धा गरेका हुन् । गोदावरीको ए र बि गरी २ टिम समावेश भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *