सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाले अर्को महिना सुरु हुने कोपा अमेरिका फुटबल खेल्ने आफ्नो टोली घोषणा गरेको छ । प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले कोपाअघि हुने दुई मैत्रीपूर्ण खेलसहित कोपा खेल्ने टिम आज सोमबार सार्वजनिक गरेका हुन् । लियोनल मेस्सीको कप्तानीमा घोषित टोलीमा केही स्टार खेलाडी परेका छैनन्, जसले २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउँदा फाइनल खेलमा नायकी योगदान दिएका थिए । विश्वकपको फाइनल खेलमा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा महत्त्वपूर्ण समयमा पेनाल्टी गोल गरेका पाउलो डिबाला कोपा अमेरिका खेल्ने टोलीमै परेका छैनन् ।

इटालियन क्लब रोमाबाट खेल्दै आएका डिबाला कोपा खेल्ने टोलीमा नपर्नुलाई धेरैले आश्चार्यजनक मानेका छन् । स्कालोनीको यो निर्णयबाट समर्थकले सामाजिक सन्जालमा चर्को आलोचना पोखिरहेका छन् । अर्जेन्टिनालाई विश्वकप जिताउँदा डिबाला टोलीमा नियमित खेलाडी नभए पनि उनले कठिन समयमा टिमलाई निर्णायक योगदान दिएका थिए । तर अब उनलाई कोपाको मञ्चमा देख्न नपाइने भएको छ । त्यसैगरी, कोपाको टोलीमा बोलाउने अपेक्षा गरिएका केही युवा र प्रतिभाशाली खेलाडी पनि टोलीमा डाकिएको छैन ।

अहिले टोलीमा कूल २९ जना खेलाडी समावेश छन् । यी खेलाडी कोपाअघि हुने दुई मैत्रीपूर्ण खेलसम्म टिममा रहनेछन् । मैत्रीपूर्ण खेलहरू सकिनासाथ कोपामा प्रवेश गर्नुअघि नै यी २९ जना मध्येबाट ३ जना खेलाडीको नाम कटौती गरिनेछ । टिममा बढीमा २६ जना मात्रै खेलाडी समावेश गर्न पाइनेछ । अहिले २९ खेलाडी समावेश हुँदा पनि डिबालालाई भने स्थान दिइएको छैन ।

अर्जेन्टिनाको घोषित टोलीमा गोलकपरमा फ्रान्को अर्मानी र इमिलियानो मार्टिनेज सहित छन् । अन्य स्टार खेलाडीहरू नाहुएल मोलिना, लियान्द्रो पाराडेश, क्रिस्टिएन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, लियान्द्रो पाराडेश, एलेक्सिस म्याक अलिस्टर, रोड्रिगो डे पाउल, इन्जो फर्नान्डेज, जियोभानी लो सेल्सो, एन्जल कोरेरा, लौटारो मार्टिनेज र जुलियन अल्भारेज पर्दा कोपा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुने घोषणा गरिसकेका एन्जल डी मारिया पनि कोपा खेल्ने टोलीमा सामेल छन् ।

कोपा खेल्न जानुअघि अर्जेन्टिनाले दुई मैत्रीपूर्ण खेल खेल्नेछ, जसमा पहिलो खेल जुन १० मा इक्वेडरविरुद्ध र दोस्रो गोल जुन १४ मा ग्वाटेमालासँग हुनेछ । यी दुई खेलपछि अर्जेन्टिनाको कोपा फुटबलको यात्रा सुरुआत हुनेछ । कोपामा अर्जेन्टिनाको पहिलो खेल जुन २१ मा क्यानडासँग हुनेछ । समूह ‘ए’मा अर्जेन्टिनाले क्यानडासँगै पेरु र चिलीको सामना गर्नेछ। जुन २१ बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमै अर्जेन्टिना र क्यानडाको हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *