अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘सी’ डिभिजन लिग खेल्न वञ्चित गरेपछि आरसी ३२ का दुई खेलाडीले नेपाल फुटबल खेलाडी संघ गुहारेका छन्।

आफूविरुद्ध परेको ‘प्रोटेस’को जानकारीसमेत नदिई एन्फाले लिग खेल्न वञ्चित गरेको भन्दै सुमनबहादुर मगर र बबिन बोहराले नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी तथा अध्यक्ष विक्रम लामालाई पत्र लेख्दै खेलाडी संघ गुहारेका हुन्।

‘१४ गते पाँचौं चरणको खेल्ने खेल आउने क्रममा मैले खेल्न नपाउने ब्यहोरा जानकारीमा आउँदा म अचम्ममा परेको छु। मेरोविरुद्ध परेको प्रोटेसबारे मलाई एन्फाबाट कुनै पनि पत्राचार नभएको जानकारी गराउँदछु। एउटा खेलाडी सूचनाको हकबाट वञ्चित हुनु र बिना पुष्टि मौखिक रूपमा खेल खेल्न नपाउनु आफैंमा खेदपूर्ण कुरा हो। तसर्थ, खेलाडी संघसमक्ष न्यायका लागि यो निवेदन पेस गर्छु,’ उनीहरूले लेखेको पत्रमा भनिएको छ।

सुमन ‘बी’ डिभिजनको झापा फुटबल क्लबमा र बबिन श्री भगवती यूथ क्लबमा दर्ता भएको भन्दै उनीहरूलाई खेल्न रोक्न सी’ डिभिजन क्लबका संयोजक तथा महावीर क्लबका अध्यक्ष दिवाकर घलेको नेतृत्वमा लिग खेलिरहेका १४ मध्ये ९ क्लबले गत बैशाख १० गते एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई बुझाएका थिए। ध्यानाकर्षण पत्र तर, एन्फाले कुनै चासो नदिएको भन्दै ती ९ क्लबले गत शुक्रबार स्वयम्भू क्लब र समाज यूथ क्लबबीचको दिनको पहिलो खेलमा खेलाडी मैदान उतार्न अस्वीकार गरेपछि एन्फाले बैठक राखेको थियो।

एन्फा अध्यक्ष नेम्वाङले नियमअनुसार बुझेर निर्णय गर्ने वचन दिएपछि खेल एक घण्टा ढिला गरी खेल शुरू भएको थियो। स्वयम्भूले भने भगवतीमा दर्ता भएका अशोक दर्लामीलाई हटाएर खेलेको थियो।

म्याच कमिस्नर सञ्जीव मिश्रले सोही दिन सामाजिक कल्याण स्पोर्टस सेन्टरसँग भएको खेलमा आरसी ३२ लाई विवादमा परेका दुई खेलाडीलाई ‘ड्रप’ गर्न मौखिक रूपमा भनेका थिए। उक्त खेलमा सुमन र बबिन मैदान उत्रिन पाएका थिएनन्।

उक्त खेलमा शीर्ष स्थानमा रहेको आरसी ३२ ले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। आरसी ३२ का मुख्य प्रशिक्षक गणेश खड्काले सुमनलाई झापाले अनुबन्धमै नराखेको बताए। बबिनले पनि भगवतीबाट प्रतियोगिता शुरू हुनुभन्दा अगाडि नै रिलिज लेटर लिएर आएका उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *