बैतडी । प्रधानमन्त्री कप महिला टि-२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिताको उपाधि बैतडीले जितेको छ ।

बैतडीको दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा बिहिवार भएको फाइनल खेलमा कञ्चनपुरलाई ६ विकेटले पराजित गर्दै बैतडी च्याम्पियन बनेको हो ।

जितका लागि पाएको ७२ रनको लक्ष्य बैतडीले १२.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।

बैतडीको जितमा कप्तान रितु कनौजियाले अविजित २२ र जानकी थापा १४ रनमा नटआउट रहिन् । यता, बलिङतर्फ कञ्चनपुरकी मन्जु विष्टले दुई विकेट हात पारिन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कञ्चनपुरले २० ओभरमा अलआउट हुँदै ७१ रन बनायो । उसका रेवती धामीले ४१ रनको पारी खेलेपनि अन्य ब्याटरले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बैतडीका लागि जानकी थापाले दुई विकेट हात पारिन् । जानकी खेल प्लेयर अफ द फाइनल समेत चुनिईन् ।

बैतडीकी कप्तान रितु कनौजिया सर्वोत्कृष्ट खेलाडी बनिन् । यस्तै, कञ्चनपुरकी कप्तान बिन्दु रावल उत्कृष्ट ब्याटर, बैतडीकी करिश्मा थापा उत्कृष्ट बलर र डडेल्धुराकी जयन्ती भण्डारी उदयीमान खेलाडी बनिन् ।

विजेता, उपविजेता खेलाडीलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत खेलाडी तयारी निर्देशक एवं ओलम्पियन दीपक विष्ट, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य धिरेन्द्र सावद, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरालगायतले पुरस्कार वितरण गरे ।

समापन समारोहमा बोल्दै क्यानका अध्यक्ष चन्दले क्रिकेटलाई सबैको साझा खेल बनाउने बताए । क्रिकेटलाई व्यावसायिक बनाउने र महिला प्रिमियर लिग पनि आयोजना गरिने उनले बताए ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको सहआयोजना पुस १९ गतेदेखि सुरू भएको प्रतियोगितामा प्रदेशका ७ टोलीको सहभागीता रहेको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छनोट गरेर प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोली तयार गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *