घरेलु टोली न्युजिल्याण्डले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज एक खेल अगावै जितेको छ ।

ह्यामिल्टनस्थित सेडन पार्कमा बुधबार सम्पन्न दोस्रो खेलमा न्युजिल्याण्डले श्रीलंकालाई ११३ रनले पराजित गर्दै तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । पहिलो खेलमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २५६ रनको लक्ष्य पछ्याएको श्रीलंका ३०.२ ओभरमा १४२ रन मात्र जोड्न सक्यो ।

श्रीलंकाका लागि कामिन्दु मेन्डिसले ६६ बलमा पाँच चौका र तीन छक्काको मद्दतले सर्वाधिक ६६ रनको योगदान गरे । यसैगरी जानिथ लियान्गेले २२, चामिन्दु विक्रमासिंघेले १७ र आविश्का फर्नान्डोले १० रन बनाए ।

पाँचौ विकेटका लागि मेन्डिस र लियान्गेले ५७ रनको साझेदारी गरे । न्युजिल्याण्डका लागि विल ओ’ रोर्केले तीन, जेकब डफीले दुई तथा म्याट हेनरी, नाथन स्मिथ र कप्तान मिचेल स्यान्टनरले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित ३७ ओभरमा नौ विकेट गुमाउँदै २५५ रनको योगफल तयार पारेको थियो ।

न्युजिल्याण्डका लागि रचिन रविन्द्रले ६३ बलमा नौ चौका र एक छक्काको मद्दतले सर्वाधिक ७९ रनको योगदान गरे । यसैगरी मार्क च्याम्पम्यानले ५२ बलमा पाँच चौका र दुई छक्काको मद्दतले ६२, ड्यारिल मिचेलले ३८, ग्लेन फिलिप्सले २२, मिचेल स्यान्टनरले २० र विल योङ्गले १६ रन बनाए ।

दोस्रो विकेटका लागि रविन्द्र र च्याम्पम्यानबीच ११२ रनको साझेदारी भयो । श्रीलंकाका लागि महेश तिक्क्षणा चार, वानिन्दु हसरंगाले दुई तथा असिथा फर्नान्डो र इशान मालिंगाले समान एक विकेट लिए ।

तेस्रो तथा अन्तिम एकदिवसीय खेल शनिबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *