भियतनामले आसियान च्याम्पियनसिप २०२४ को उपाधि जितेको छ ।

आइतबार बैंककमा सम्पन्न फाइनलको दोस्रो लेगमा भियतनामले १० खेलाडीमा सीमित थाइल्यान्डलाई ३-२ ले पराजित गर्दै समग्रमा ५-३ को स्कोरसहित उपाधि आफ्नो पक्षमा पारेको हो ।

पहिलो लेगमा भियतनामले २-१ को जित हात पारेको थियो । दोस्रो लेगमा खेलको आठौं मिनेटमा फाम तुआन हाइले गोल गर्दै भियतनामलाई अग्रता दिलाएका थिए । तर, २८औं मिनेटमा थाइल्यान्डका लागि बेन डेविसले बराबरी गोल फर्काए ।

६४औं मिनेटमा सुपाचोक सराचाटले गोल गर्दै थाइल्यान्डलाई खेलमा २-१ को अग्रता दिलाए । खेलको ७४औं मिनेटमा थाइल्यान्डका वीराथेप पोमफुनले दोस्रो पहेंलो कार्ड पाएर मैदान छाड्नु परेको थियो ।

१० खेलाडीमा सीमित थाइल्यान्डविरुद्ध भियतनामले दबाब बढायो । खेलको ८२औं मिनेटमा थाइल्यान्डका पान्सा हेम्भिभुनले आत्मघाती गोल गरेपछि खेल २-२ को अवस्थामा आयो । अन्ततः खेलको इन्जुरी समयमा न्गुयेन हाइ लङले गोल गर्दै भियतनामको जित सुनिश्चित गरे ।

जितसँगै भियतनामले तेस्रो पटक आसियान च्याम्पियनसिपको उपाधि जितेको हो । यसअघि २००८ र २०१८ मा भियतनाम च्याम्पियन बनेको थियो । थाइल्यान्डले भने सात पटक उपाधि जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *