नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल जय ट्रफी मेन्स एलिट कपको पहिलो संस्करण गुमाउने भएका छन् ।
२०२४ को सुरूमा भएको प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा रोहित आबद्ध नेपाल एपिएफ क्लब शीर्ष चारमा स्थान बनाउन असफल भएपछि उनले यो प्रतियोगिता गुमाउने भएका हुन् ।
जय ट्रफीमा शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश, र मधेश प्रदेशको सहभागिता हुनेछ । प्रतियोगिता पुस २१ देखि माघ ३ सम्म जनकपुर र वीरगंजमा हुनेछ ।
सिङ्गल राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय र फाइनल तीन दिवसीय ढाँचामा हुनेछन् ।
रोहितसँगै राष्ट्रिय टोलीका नियमित विकेटकिपर आसिफ शेख र अन्य खेलाडीहरू अभिनाश बोहोरा, भुवन कार्की, सन्दीप जोरा, सुमित महर्जन, र लोकेश बमले पनि प्रतियोगिता गुमाउने भएका छन् ।
