धरान । डिपो स्कुलको आयोजनामा भइरहेको १९ औं अम्बर ललित डिपो कपको सोमबारदेखि सुरू भएको क्वाटरफाइनल खेलमा आयोजक डिपो स्कुल र पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो क्वाटरफाइनल खेलमा डिपो स्कुलले प्रभात स्कुललाई १-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । डिपो स्कुललाई जित दिलाउन रिदम बिकले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच प्रभात स्कुलका आशिष राई चुनिए ।
त्यसैगरी सोमबार नै भएको दोस्रो क्वाटरफाइनल पुलिस स्कुलले काम्रेल हाइ स्कुललाई १-० गोलले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । खेलम पुलिस स्कुलका युगल बिकले गर्दै आफ्नो टिमलाई जित दिलाए । काम्रेल हाइ स्कुलका गोलरक्षक नुयाङ राई घोषित भए ।
प्रतियोगिताअन्तर्गत मंगलबारको खेल इमानुयल र हिविकस स्कुल र दिल्ली पब्लिक र माउण्ट हम्रन स्कुलबीच प्रतिस्पर्धा हुनेछ ।
दिलकुमार प्लेट च्याम्पियनमा आइडियल र जल साय स्कुल विजयी
यसैबीच सोमवारदेखि सुरू भएको प्लेट च्याम्पियनतर्फ आइडियल स्कुल र जल साय स्कुल विजयी भएका छन् ।
आइडियल स्कुल र धरान लिगामेन्ट स्कुलबीच भएको खेलमा निर्धारित समय सम्ममा दुवैतर्फ बराबरी १-१ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा आइडियल स्कुल ३-१ गोल अन्तरले विजयी भए ।
दोस्रो खेलमा देउराली चिल्ड्रेन र जल साय स्कुलले निर्धारित समयमा कुनै गोल गर्न नसकेपछि दोस्रो खेल पनि टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा २-१ गोल अन्तरले जल साय स्कुल विजयी बने ।
अम्मर ललित डिपो कपमा पहिलो चरणमा पराजित भएका टिमले दिलकुमार प्लेट च्याम्पियन खेल्न पाउनेछन् ।
कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ । फाइनल खेल पुष १९ गते हुनेछ ।
