हेटौंडा । हेटौंडामा जारी दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सोमबार लिग चरणका अन्तिम खेलहरू सम्पन्न भएपछि सेमिफाइनल चरणमा पुग्ने टोलीहरू तय भएका हुन् ।

समूह ‘ए’ बाट पशुपति शिवाजी चित्लाङ एफसी, समूह ‘बी’ बाट ब्लु अल्पाइन क्लब सिन्धुली, समूह ‘सी’ बाट लक्की स्टार क्लब ललितपुर, र समूह ‘डी’ बाट टाइगर टिम दोलखा सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन् ।

सोमबारको पहिलो खेलमा ब्लु अल्पाइन क्लब, सिन्धुलीले चौतारा स्पोर्ट्स क्लब, सिन्धुपाल्चोकलाई २-१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो । उक्त खेलमा सिन्धुलीका निर्दोष मुक्तान म्यान अफ द म्याच चुनिए ।

त्यस्तै, दोस्रो खेलमा लक्की स्टार क्लब, ललितपुरले धुनिबेसी युथ क्लब, धादिङलाई ३-१ ले हराउँदै सेमिफाइनलमा स्थान बनायो । यस खेलका म्यान अफ द म्याच ललितपुरका सुदीप गुरुङ बने ।

अब बुधबारबाट सेमिफाइनल चरणका खेलहरू सुरु हुनेछन् । पहिलो सेमिफाइनलमा ब्लु अल्पाइन क्लब, सिन्धुली र टाइगर टिम, दोलखा भिड्नेछन् । बिहीबार हुने दोस्रो सेमिफाइनलमा पशुपति शिवाजी चित्लाङ एफसी र लक्की स्टार क्लब, ललितपुरबीच प्रतिस्पर्धा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को संयोजन तथा बागमती प्रदेश फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित दुई लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँ पुरस्कार जित्नेछ प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ ।

तस्वीर: GoalNepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *