सहिद भीमनारायण गोल्ड कपको १६ औं संस्करणको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
धनकुटामा आइतबार (आज) बाट सुरु हुने शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता निःशुल्क हेर्न पाइने भएको छ । धनकुटा नगरपालिकाले प्रवेश शुल्क बेहोरेर दर्शकहरूलाई निःशुल्क फुटबल हेर्न पाउने व्यवस्था मिलाएको हो ।
आयोजक सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजन सहित ८ टिम सहभागी हुने छन् । धनकुटाको तल्लो टुडिखेलमा बैशाख २३ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एपीएफ क्लब काठमाडौं, फोर स्टार क्लब मोरङ, त्रिभुवन आर्मी क्लब र विर्तामोड युनाइटेड क्लब झापा सहभागी हुने छन् ।

यस्तै राष्ट्रिय जागृति क्लब सुनसरी, बुटवल लुम्बिनी क्लब, आयोजक धनकुटा, सल्हेस युथ क्लब सिराहा सहभागी हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्।
यस्तै सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् । २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ। तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको जनाइएको छ ।
