ललितपुर । एन्फा यु-१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले विजयी सुरुआत गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा भएको उद्घाटन खेलमा चर्च ब्वाइजले संकटा क्लबविरुद्ध २-१ को पुनरागमन जित निकालेको हो ।

चर्च ब्वाइजलाई जित दिलाउन सोनिल मगर र सुगम रानाले गोल गरे । संकटाका लागि पेम्बा तामाङले गोल गरे ।
खेलको १५औं मिनेटमा पेम्बाको पेनाल्टी गोलमार्फत संकटाले अग्रता लिएको थियो। ३०औं मिनेटमा सोनिलले फ्रिकिकमार्फत चर्च ब्वाइजका लागि बराबरी गोल फर्काए ।

निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २-१ को रोमाञ्चक पुनरागमन जित दिलाए ।
शुक्रबारदेखि सुरु भएको लिग डबल राउन्ड रोबिन पद्धतिमा हुनेछ । ११ टिमले प्रतिस्पर्धा गर्ने लिगमा सबै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।
