चितवन । मलेसियामा हुने १९ वर्षमुनि (यू-१९) को महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् ।

चितवनको भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्ग‌शालाको नमुना खेल मैदानमा बुधबारदेखि प्रशिक्षण सुरु भएको हो ।

बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी छन् । बन्द प्रशिक्षण यही पुस २२ गतेसम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै आउँदो जनवरीमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए ।

यू-१९ महिला क्रिकेट टिमका कप्तान पूजा महतोले चितवनको खेल मैदान राम्रो भएको र आफूहरूलाई चितवनमा अभ्यास गर्न पाउँदा खुसी लागेको बताउँदै अभ्यासको क्रममा आफूहरूमा रहेको कमजोर पक्षलाई सुधार गर्ने बताइन् ।

अभ्यासका लागि चितवन पुगेका खेलाडीहरूलाई भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले स्वागत गरेका थिए । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चितवनमा बन्दै गरेको रंगशालाको नमुना मैदानमा हुने अभ्यासले रंगशाला निर्माणमा दबाब पर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *