काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का निर्वाचन संयोजक तथा अधिवक्ता वसन्तबहादुर बस्नेतले एनओसीको निर्वाचनका लागि इमेल मार्फत मनोनयन पेश गर्न अनुरोध गरेका छन् ।
बस्नेतले एक विज्ञप्ती जारी गर्दै एनओसीको निर्वाचनका लागि सोमबार राती ११:३० बजेभित्र इमेल मार्फत मनोनयन पेश गर्न जानकारी गराएका हुन् । त्यस्तै उम्मेदवारको पहिलो सूची भोलि मंगलबार ९:३० बजे प्रकाशित हुने समेत जनाएका छन् ।
अधिवक्ता वस्नेतले सोमबार बिहान १० देखि दिउँसो २ बजेसम्म एनओसीको कार्यालय सातदोबाटोमा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेपनि सरकारको अप्रत्याशित हस्तक्षेपले तालाबन्दी गरिएको जानकारी गराएका छन् । साथै प्रारम्भिक तालिका अनुसार विधिवत रुपमा भरिएका मनोनयन फारमहरु भौतिकरुपमा संकलन गर्न असमर्थ रहेको भन्दै इमेल मार्फत अनलाइन मनोनयन संकलन गर्ने निर्णय गरेको बताएका छन् ।
निर्वाचन संयोजक वस्नेतलले निर्वाचनका बाँकि कार्यक्रमहरु पूर्व निर्धारित तालिका अनुसार हुने पनि जनाएका छन् । मनोनयनको दर्ता समय आज (सोमबार) बिहान १० देखि २ बजेसम्म तोकिएपनि उच्च अदालत पाटनको आदेश अनुसार नेपाल प्रहरीले एनओसीमा तालाबन्दी गरेको थियो । त्यसपछि मनोनय दर्ता प्रक्रिया प्रभावित बनेको थियो ।
