हिमाल खरेल, बिर्तामोड | कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ ।

बुधबार बोर्ड कार्यालयमा बसेको बोर्डको २३ औं बैठकले प्रतियोगितालाई गति दिन जिल्लामा रकम पठाउने निर्णय गरेको हो

बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकमा राईले १० औं राष्ट्रिय खेलकुदमा कोशी प्रदेश पूर्ण तयारी साथ प्रस्तुत हुने बताए ।

मन्त्री राईले कोशी प्रदेशले अत्यधिक पदक जित्नेगरी तयारीमा लाग्नुपर्ने र आवश्यकताअनुसार प्रदेश सरकार र बोर्डले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले राष्ट्रिय खेलकुद तयारीसँगै बोर्डको भौतिक संरचना तथा सम्पत्तिको अभिलेखीकरण गर्ने र खेल संघहरुको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन-२०८१ लाई पारित गरेको जानकारी दिए ।

त्यस्तै, बैठकले बोर्डको आर्थिक कार्यविधि निर्माण गर्ने, मोरङको बैजनाथपुर र सुनसरीको इटहरी रंगशालाको व्यवस्थापन समिति निर्माण गर्ने, बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम सर्भे) गर्ने लगायतको निर्णय गरेको बस्नेतले बताए ।

सदस्य सचिव बस्नेतका अनुसार बैठकले बोर्डको वार्षिक कार्यक्रम कार्ययोजना निर्माण गरेर प्रदेशस्तरीय खेलकुद आयोजना गर्ने निर्णय समेत गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्‌को मंसिर २१ गते बसेको बोर्ड बैठकले चैत २३ गते देखि ३० गतेसम्म १० औं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *