मछिन्द्र फुटबल क्लबमाथि रोमाञ्चक जित हात पार्दै रेडस्टार फुटबल क्लब झापा दोस्रो एनआरएनए इलाम गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इलामको ठूलो टुडिखेलमा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा रेडस्टारले मछिन्द्रमाथि २-१ को जित निकालेको हो । रेडस्टारको जितसँँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ ।
रेडस्टारले अब फाइनल फाइनल प्रवेशका लागि एनआरटीसँग खेल्नेछ । दार्जिलिङको जिटिएलाई पराजित गर्दै एनआरटी यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

रेडस्टारको जितमा आदित्य शाक्य र निरज कार्कीले समान एक-एक गोल गरे भने मछिन्द्रको तर्फ बाट मनिष डाँगिले एक गोल फर्काए ।
आदित्य शाक्यले खेलको ३५ औं मिनेटमा गरेको गोलबाट रेड स्टारले सुरुवाती अग्रता लिएको थियो । मछिन्द्रको तर्फबाट मनिष डाँगिले फ्रीकिकलाई हेडिङ मार्फत पोस्टको दिशा दिलाए र खेल ६९ औं मिनेटमा १-१ को बराबरीमा पुग्यो ।
खेलको ८५ औं मिनेटमा रेडस्टारले खेलमा अग्रता लियो । रेडस्टारका विदेशी खेलाडी पोकु ह्याङ्गीले हानेको फ्रीकिकमा निरज कार्कीले डिबक्सभित्र हेडिङ गोल गर्दै रेडस्टारलाई २–१ को अग्रता दिलाए ।
त्यसपछि दुबै टिमबाट गोल हुन नसकेपछि रेडस्टार २-१ को जितसहित सेमिफाइनलमा प्रवेश गर्यो ।

खेलको म्यान अफ द म्याच झापाका आदित्य शाक्य घोषित भए । उनले नगद आठ हजार एक सय सहित ट्रफि प्राप्त गरे । बुधबार पहिलो सेमिफाइनल खेल आयोजक रेडहर्ष क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १० लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद रु पाँच लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।
