ताप्लेजुङको फुङलिङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ ।

शनिबार भानु माविको खेल मैदानमा भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४-१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।

खेलको पहिलो हाफको अन्तिम मिनेटमा कार्लोसले गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए । त्यस्तै शिशिर लेखीले ५१ मिनेटमा गोल गर्न सफल रहे भने सञ्जय श्रेष्ठले ६६ मिनेटमा गोल गरे । धरानको लागि अन्तिम गोल खेलको ७८ औ मिनेटमा दोर्जे तामाङले गरे ।

इलामको तर्फबाट भने सान्तवना गोल सुगम खजुमले ८८ औँ मिनेटमा पेनाल्टी मार्फत  गरेका थिए । धरानका खेलाडीको पेनाल्टी एरिया भित्र ह्यान्ड भएपछि पाएको  अवसरमा खजुम गोल गर्न सफल रहे ।

खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका अनुसार उपाधि जितेसँगै धरानको गोधुली फुटबल क्लबले रु तीन लाख दुई हजार ८१ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको रेड डेभिल्सले रु एक लाख ५१ हजार ८१ नगदसँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ दि म्याचु धरानका शिशिर राई चुनिए । उनले नगद रु ५ हजार प्राप्त गरे ।

त्यस्तै विधागततर्फ प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गोधुली क्लब धरानका मिलन राई भए । बेस्ट गोलकिपर तथा उत्कृष्ट प्रशिक्षकको उपाधि पनि धरान कै खेलाडी तथा प्रशिक्षकको नाममा रह्यो । प्रमोजय गच्छदारले बेष्ट गोलकिपर तर्फ पुरस्कार हात पारे भने प्रशिक्षकको उपाधि प्रशिक्षक इन्द्र थापा मगरले पाए ।

प्रतियोगिताको उदयमान खेलाडी ताप्लेजुङको कन्चनजङ्घा फुङ‌लिङ क्लबका सुहाङ लिम्बुले पाए । विधागत रूपमा उत्कृष्ट रहेका सम्पूर्णलाई जनही ७ हजारका दरले पुरस्कार प्रदान गरिएको म्याच कमिसनर टिकेन्द्र नेपालीले बताउनुभयो ।

विजेता टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, फु‌ङ्लिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझालगायतले पुरस्कार वितरण गरेका थिए ।

लिम्बू समुदायको सांस्कृतिक पर्व चासोक तङ्‌नामको अवसरम चासोक तङ्‌नाम सञ्चालन समिति, कञ्चनजङ्घा फु‌ङ्लिङ क्लब र ङावोरक सङ्‌ङ्गुम्भो फु‌लेङले संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना गरेका हुन् ।

गत शनिबारदेखि सुरु भएको प्रतियोगितामा भारत, सिलिगुढीको कञ्चनजङ्घा फुटबल क्लबसहित आठ टोली सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *