मंसिर २२ गते शनिबारबाट नेपालमा हुने सेन्ट्रल एसियन (काभा) पुरुष अन्तर्राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप २०२४ को खेल तालिका सार्वजनिक भएको छ
सार्वजनिक खेल तालिका अनुसार भोलि (शनिबार) काठमाडौंको त्रिपुरेश्वतरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगिताको पहिलो तथा उद्घाटन खेलमा नेपालको टिपटप हेल्प नेपाल र भारतको क्यालीकट हिरोज क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
हेल्प नेपाल र हिरोजबीचको उद्घाटन खेल शनिबार दिउँसो ३:१५ बजे शुरु हुनेछ । यस्तै शनिबार नै साँझ ५:५० बजे शुरु हुने दोश्रो खेलमा नेपालको गण्डकी प्रदेश भलिबल क्लब र माल्दिभ्सको एचडीसी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै लिगमा प्रत्येक दिन दुई खेल हुनेछन् । आईतबार दिउँसो २:३० बाट शुरु हुने दिनको पहिलो खेलमा ईरानको चादौर मालो क्लब र एचडीसी क्लब तथा साँझ ५ बजे शुरु हुने दोश्रो खेलमा दुई घरेलु टोली गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल भिड्ने छन् ।
यस्तै दिउँसो २:३० बाट शुरु हुने सोमबारको पहिलो खेलमा क्यालीकट हिरोज र एचडीसी क्लब तथा साँझ ५ बजे शुरु हुने दोश्रो खेलमा गण्डकी प्रदेश र चादौर मालो क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मंगलबार प्रतियोगिताका कुनै खेल हुने छैनन् । त्यसपछि दिउँसो २:३० बजे शुरु हुने बुधबारको पहिलो खेलमा क्यालीकट हिरोज र चादौर मालो तथा साझ ५ बजे शुरु हुने दिनको दोश्रो खेलमा हेल्प नेपाल र एचडीसी भिड्ने छन् ।
त्यसैगरी दिउँसो २:३० बजे शुरु हुने बिहीबारको पहिलो खेलमा चादौर मालो र हेल्प नेपाल तथा साँझ ५ बजे शुरु हुने दोश्रो खेलमा गण्डकी प्रदेश र क्यालीकटबीच प्रतिस्पर्धा हुनेछ ।
५ टोलीबीच राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष ४ टोलीले सेमिफाइनल खेल खेल्ने छन् । सेमिफाइनलका दुवै खेल शुक्रबार हुनेछन् । पहिलो सेमिफाइनल खेल दिउँसो २:३० र दोश्रो साँझ ५ बजे शुरु हुनेछ ।
यसैगरी तेश्रो स्थानको स्पर्धा र च्याम्पियनसिपको फाइनल खेल मंसिर २९ गते शनिबार हुनेछन् । तेश्रो स्थानको स्पर्धा दिउँसो २ तथा प्रतियोगिताको फाइनल खेल अपरान्ह ४:३० बजे शुरु हुनेछ ।
नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा हुन लागेको नेपालका २ सहित ५ टोलीले प्रतिस्पर्धा गर्दैछन् । नेपालबाट गत संस्करणको एनभीए लिग विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र उपविजेता गण्डकी प्रदेशले यो प्रतियोगिता खेल्न लागेका हुन् ।
यसैगरी अन्य ३ क्लबमा ईरानको चादौर मालो क्लब, भारतको कालिकट हिरोज र माल्दिभ्सको एचडीसी क्लब रहेका छन्। काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप पहिलो पटक आयोजना हुन लागेको हो । नेपालले यस वर्ष आयोजना गर्न लागेको काभाको यो दोश्रो प्रतियोगिता हो । यसअघि नेपालले काभा महिला नेसन्स लिग आयोजना गरेको थियो ।
