ताप्लेजुङको फुङलिङमा जारी दोश्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघा (सेसेलुङ) गोल्ड कपको फाइलनमा ईलामको रेड डेभिल्स मजोमाई र सुनसरीको गोधूली फुटबल भिड्ने भएका छन् ।
बिहिबार भानु माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा ट्राईबेकरमा झापाको न्यु स्टार क्लबलाई ४-३ गोलअन्तरले पराजित गर्दै रेड डेभिल्सले फाइलनको यात्रा तय गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको नतिजा ट्राईबेकरमार्फत निकालिएको हो ।
खेलको म्यान अफ दि म्याच रेड डेभिल्सका गोलरक्षक सुजन फागो घोषित भए । उनले नगद ५,००० रुपैयाँ प्राप्त गरे ।

हिजो भएको पहिलो सेमिफाइलन खेलमा सम्दु फुटबल क्लब तेह्रथुमलाई ट्राइबेकर मार्फत ४-२ गोलअन्तरले पराजित गर्दै गोधुली फाइनलमा प्रबेश गरिसकेको छ ।
चासोक तङनामको अवसरमा गत मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतको सहित कुल ८ टीमको सहभागीता रहेको थियो ।
प्रतियोगिताको उपाधिका लागि अब रेड डेभिल्स फुटबल क्लब र गोधुली फुटबल क्लब शनिवार फाइनलमा खेल्ने भएका छन् । प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमश नगद ३ लाख २ हजार ८१ रुपैयाँ र १ लाख ५२ हजार ८१ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।
