फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा उरुग्वेले कोलम्बियालाई ३- २ गोल अन्तरले पराजित गरेको छ ।
शनिबार बिहान भएको खेलमा उरुग्वेकालागि म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे ।
खेलमा अग्रता भने कोलम्बियाले लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे ।त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी भयो। रोड्रिगो एगुरेले ६० औं मिनेटमा गोल गरेपछि उरुग्वेले खेलमा अग्रता बनायो।
इन्ज्युरी समयको छैटौं मिनेटमा आन्द्रेस गोमेजले कोलम्बियाका लागि गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि पनि उगारटेको गोलमा उरुग्वे विजयी भयो ।
शनिबार बिहान भएको अर्को खेलमा पेरु र चिलीले गोलरहित बराबरी खेलेका छन् ।
उरुग्वे र कोलम्बियाको समान १९ अंक भएको छ । उरुग्वे गोल अन्तरले अगाडि रहँदै दोस्रो स्थानमा छ भने कोलम्बिया तेस्रो स्थानमा रहेको छ । १० टोलीको सहभागिता रहेको छनोटमा ११ खेलको समाप्तिपछि पेरु नवौं र चिली १० औं स्थानमा छ।
अर्जेन्टिना २२ अंकमा शीर्षस्थान र ब्राजिल १७ अंकमा चौथो स्थानमा छ ।
