सुदूरपश्चिम प्रदेशले विराटनगरमा भएको नरेश श्रेष्ठ मेमोरियल यू-१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार विराटनगर स्थित गिरिजा प्रसाद कोइराला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्दै उपाधि हात पारेको हो । अघिल्लो सिजनमा पनि सुदूरपश्चिमले लुम्बिनीलाई नै पराजित गरेर उपाधि जितेको थियो ।
१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४३.१ ओभरमा ११९ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान आकाश त्रिपाठीले २२, शिव कुँवरले २०, विजय कोहरले १९, समीर अली मुसलमानले १८, सन्तोष यादवले १२ रन बनाए ।
सुदूरपश्चिमका कप्तान हेमन्त धामीले ४, सचिन भट्ट र नरेन राउदले दुई/दुई र अशोक धामीले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा अल आउट हुदै १ सय २७ रनको योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमको जितमा अभिशेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४, दीपक रोकायले ११, अशोक धामीले ८, हेमन्त धामीले ६ रन बनाएका थिए ।
लुम्बिनीका सन्तोष यादबले ५, रमेश कुर्मीले ३ र शिव कुँवरले एक विकेट लिए ।
सुदूरपश्चिम प्रदेश लिग चरणको पहिलो खेलमा लुम्बिनीसँग ४१ रनले पराजित भएको थियो ।
राउन्ड रोविनको आधारमा खेलाइएको प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहेको थियो । प्रतियोगिता कार्तिक १० गते बाट शुरु भएको थियो ।
