प्लेट सेमिफाइनलमा युएईसँग पाँच विकेटले पराजित हुँदै नेपाल हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबार मिसन रोड क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य युएईले चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै पूरा गर्यो । युएईका लागि कप्तान कप्तान आसिफ खानले १५ बलमा सात चौका र तीन छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी अन्स तन्डनले अविजित २३ र खालिद शाहले १५ रन बनाए ।
नेपालका लागि एकमात्र विकेट राशिद खानले लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा तीन विकेट गुमाउँदै ९४ रनको योगफल तयार पारेको थियो । नेपालका लागि विवेक यादवले १६ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी लोकेश बमले १९ र प्रतिश जिसीले अविजित १४ रन बनाए ।
युएईका लागि अकिफ राजाले दुई र सन्चित शर्माले एक विकेट लिए ।
समूह चरणमा इङ्ल्यान्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँग पराजित भएको थियो ।
