नेपाल अमेरिकासँँग फेरि पराजित

२०८१, १८ कार्तिक आईतवार ०८:४९

अमेरिकामा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड पेरी क्रिकेट रङ्गशालामा भएको खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो ।

अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछ्याएको नेपालले १ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २४४ रन बनायो । नेपालका लागि सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरे । १० ओभरमा ५० रन खर्चेर २ विकेट लिएका सोमपाल ४० औं ओभरको तेस्रो बलमा गुलसन झा आउट भएपछि क्रिजमा आएका थिए । सो समयमा नेपालको स्कोर १६२ रन थियो ।

उनले दीपेन्द्र सिंह ऐरीसँग मिलेर आठौँ विकेटका लागि ७३ रनको साझेदारी गरे । ४७ औं ओभरमा भान साचलविकको बलमा आउट हुनुअघि उनले २७ बलमा ४६ रन जोडेका थिए । यसक्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालका अनिल शाहले ८० बलमा ५२ रनको योगदान गरे। ३८ बलमा ३१ रन जोडेको ऐरी अन्तिम विकेटको रूपमा नेत्रभालकरबाट आउट भए । सोमपाल भन्दा अघि धिमा गतिमा खेलिरहेका नेपालका कुशल मल्लले ५४ बलमा ३३ र कुशल भुर्तेलले ५१ बलमा २९ रन जोडे । आरिफ सेखले १३ बलमा २१ रन जोडेका थिए ।

अमेरिकाका सौरभ नेत्रभालकरले ९.५ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिए । नोत्सु केनित्जे र भान साचलविकले समान २ विकेट लिए । हरमित ८ ओभरमा ४६ रन खर्चेर १ विकेट लिए । अलराउन्ड प्रदर्शन गरेका उनी प्लेयर अफ द म्याच बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ८ विकेटको क्षतिमा २८१ रनको योगफल खडा गरेको थियो । अमेरिकाका लागि मोनान्क पटेलले ६७ तथा साइकेजा मतामेलाले ७५ रन जोडेका थिए । तर यी दुवै भन्दा हरमित सिंहले छिटो गतिमा रन बटुलेका थिए । उनले ४४ बलमा ५९ रन जोडे । उनको पारीमा ३ चौका र ३ छक्का समावेश थियो ।

नेपालका गुलसन झाले ३ विकेट लिए । तर उनी महंगा सावित भए । १० ओभरमा ८७ रन खर्चिए । करण केसीले आफ्नो दोस्रो ओभर पुरा गर्न पनि नभ्याउँदै समस्या आएपछि उनले १० बल मात्र फ्याँके । उनले यस क्रममा २ रन मात्र खर्चेका थिए । सन्दीप लामिछानेले १० ओभरमा ४८ रन खर्चेर २ विकेट लिए ।

जितसँगै अमेरिका तालिकाको शीर्ष स्थानमा उक्लिलिएको छ । १२ खेल खेलेका अमेरिका र क्यानडाको समान १६ अङ्क भए पनि अमेरिका रन रेटको आधारमा अघि छ । पराजित नेपाल ११ खेलमा ५ अंंक सहित ७औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *