आइसिसी टी-२० महिला विश्वकप क्रिकेटको उपाधि न्युजिल्यान्डले जितेको छ ।

आईतवार राती भएको फाइनलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्यूजल्याण्डले पहिलो पटक च्याम्पियन बनेको हो । जितकालागि १५९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो ।

उसकालागि ओपनिङमा आएका कप्तान लौरा वोल्भार्ड र ताजमिन ब्रिट्सले टोलीलाई राम्रो सुरुवात गरे पनि जित दिलाउन सकेनन् । पहिलो विकेटका लागि दुवैले ५१ रनको साझेदारी गरे ।

लौराले ३३ तथा ब्रिट्सले १७ रन जोडिन् । पहिलो विकेटपछि अफ्रिकी टोलीले पुनरागमन गर्न सकेन । त्यसपछि अफ्रिकी टोलीले लगातार विकेट गुमाउन पुग्यो ।

युएइको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको फाइनलमा अफ्रिकाले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । जुन निर्णय अफ्रिकाका लागि ठूलो गल्ती साबित भयो ।

पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले २० ओभरमा १५८/५ रन जोडेको थियो । न्युजिल्याण्डका लागि अमेलिया केरले ३८ बलमा ४ चौकाको मद्दतले ४३ रन बनाएकी थिइन् । बुरक होलिडेले ३८ तथा सुजी बेट्सले ३२ रन बनाईन् ।

सन् २०२४ मा दक्षिण अफ्रिकाले दोस्रो पटक टी- २० विश्वकपको उपाधि गुमाएको छ । टी-२० विश्वकपको फाइनलमा अफ्रिकी टोली फेरि ‘चोकर’ साबित भएको छ ।

यसअघि सन् २०२४ को टी-२० विश्वकपको फाइनलमा अफ्रिकी पुरुष टोली भारतसँग पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *