आइसीसी टी-२० विश्वकप क्रिकेटको सुपर आठका खेल आज (बुधबार) देखि सुरु हुँदै छन् । अमेरिका र वेस्टइन्डिजले आयोजना गरेको विश्वकप अन्तर्गत सुपर आठ देखि सेमिफाइनल र फाइनल खेल भने वेस्टइन्डिजमा मात्रै हुने छन् ।
बुधबार पहिलो सुपर आठको खेलमा दक्षिण अफ्रिका र अमेरिका आमने सामने हुने छन् । एन्टीगास्थित सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि शुरु हुने छ ।
समूह चरणमा दक्षिण अफ्रिका समूह ‘डी’ बाट विजेताको रुपमा रहेको थियो भने अमेरिका समूह ‘ए’ को उपविजेता हो । दक्षिण अफ्रिकाले लगातार विश्वकप खेल्दै आए पनि अमेरिका भने पहिलो पटक विश्वकप खेलेको टिम हो । यी दुई बीचको खेल पहिलो पटक हुन् लागेको छ ।
‘सुपर आठ’ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ। यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन्। समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन्। दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।
