टी-२० विश्वकपको आफ्नो अन्तिम खेलमा न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको यात्रा पूरा गरेको छ । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।

पपुवा न्युगिनीले प्रस्तुत गरेको ७९ रनको लक्ष्य न्युजिल्यान्डले १२.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।

खेलमा लोकी फर्गुसनको दुर्लभ कीर्तिमानको मद्दतले न्युजिल्यान्डले पपुवा न्युगिनीलाई ७८ रनमा सीमित गर्न सफल भएको थियो । खेलमा फर्गुसनले ४ ओभर बलिङ गर्दै चारै ओभर मेडेन राखेर ३ विकेट लिन सफल भए ।

टी-२० विश्वकपमा यस्तो उपलब्धि हासिल गर्ने उनी पहिलो बलर हुन् । टी-२० अन्तर्राष्ट्रियमा पनि यो रेकर्ड उनीबाहेक क्यानडाका साद बिन जाफरले मात्र बनाएका छन् । उनले सन् २०२१ मा टी-२० विश्वकपको छनोट खेलमा पानामाविरुद्ध ४ ओभर बलिङ गर्दै कुनै पनि रन नदिई २ विकेट लिन सफल भएका थिए ।

प्रतियोगितामा न्युजिल्यान्ड २ जित र २ हार सहित समूह सी को तेस्रो स्थानमा रहँँदै विश्वकप अन्त्य गरेको छ । जितविहिन पपुवा न्युगिनी समूहको पुछारमा रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *