काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले पञ्चकन्या ग्रुपसँग व्यावसायिक सम्झौता गरेको छ ।
कार्तिक ९ देखि हुने तेस्रो सिजनको एनपीएलमा साविक विजेता लुम्बिनी लायन्सको कन्स्ट्रक्सन पार्टनरको निम्ति पञ्चकन्या ग्रुपसँग सम्झौता भएको छ ।
शुक्रबार लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवाल र पञ्चकन्या ग्रुपका निर्देशक आशिक श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुरुप लुम्बिनी लायन्सको खेलाडीले लगाउने हेलमेटमा पञ्चकन्याको लोगो हुनेछ ।
सम्झौतापछि पञ्चकन्या ग्रुप पुनः नेपाली क्रिकेटमा फर्किएको निर्देशक आशिक श्रेष्ठले बताए । उनले भने, “पञ्चकन्याको पनि आफ्नै टिम थियो । पञ्चकन्या तेजको रूपमा हामीले २०१४ देखि २०१६ सम्म विभिन्न फ्रेन्चाइज खेलेका थियौँ । हाम्रो टोलीले उपाधिहरू जितेको पनि थियो । अहिले लुम्बिनी लायन्समा आबद्ध भएर हामी पुनः क्रिकेटमा फर्किएका छौँ ।” लुम्बिनी लायन्सका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले पञ्चकन्या ग्रुपलाई स्वागत गर्दै आफ्नो टोलीको एनपीएल यात्राका लागि मजबुत आधार बनाएको धारणा राखे । “पञ्चकन्या नेपालको अग्रणी कम्पनीमध्येको एक हो र पञ्चकन्याले यसअघि नै क्रिकेटमा आधार बनाइसकेको छ । त्यो कम्पनीलाई नेपाली क्रिकेटमा पुनः स्वागत गर्न पाउँदा हामी निकै खुसी छौँ । यो साझेदारी मजबुत बन्ने हामीले विश्वास लिएका छौँ,” कटवालले भने ।
नेपाली राष्ट्रिय टोलीका प्रमुख ब्याटर रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स एनपीएलको तेस्रो सिजनमा उत्रिने छ । लुम्बिनी लायन्समा अस्ट्रेलियाका ओपनिङ ब्याटर डी’आरी शर्ट, नामिबियाका फास्ट बलर रुबेन ट्रम्पलमन, श्रीलंकाका विकेटकिपर निरोशन डिकवेलालगायत विदेशी खेलाडी रहेका छन् ।
