नेपाली महिला क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा योगदान पुर्याउँदै आएकी क्रिकेटर मनीषा उपाध्यायलाई ‘स्व.रमा देवी स्मृति क्रिकेट कप’को तर्फबाट ६० हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गरिएको छ ।
नेपाली क्रिकेटमा मनीषाले पुर्याएको योगदान, निरन्तर मेहनत र उत्कृष्ट प्रदर्शनको सम्मानस्वरूप उक्त क्रिकेट किट प्रदान गरिएको हो । क्रिकेटप्रतिको उनको समर्पण र आगामी दिनमा अझ उच्च सफलता हासिल गर्ने यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले यो सम्मान गरिएको आयोजकले जनाएको छ ।
मनीषा उपाध्यायलाई स्व.रमा देवी स्मृति क्रिकेट कपका प्रतियोगिता निर्देशक राज क्षेत्रीले क्रिकेट सामग्री हस्तान्तरण गर्दै सम्मान गरेका हुन् । क्षेत्रीले नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान र प्रोत्साहन गर्नु आफ्नो जिम्मेवारी मात्र नभई नेपाली क्रिकेटको विकासमा योगदान गर्ने एउटा महत्वपूर्ण प्रयास भएको बताए ।
प्रतियोगिता निर्देशक राज क्षेत्री नेपाली क्रिकेटको विकासमा स्थानीय स्तरबाट प्रतिभा पहिचान, प्रोत्साहन र खेलाडीलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानमा सक्रिय रहँदै आएका छन् । खेलकुदलाई केवल प्रतियोगितामा सीमित नराखी खेलाडीको संघर्ष र योगदानलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने उनको सोच रहेको छ । ‘स्व.रमा देवी स्मृति क्रिकेट कप’मार्फत पनि उनले क्रिकेट र खेलाडीबीचको सम्बन्धलाई अझ बलियो बनाउने प्रयास गरेका छन् ।
यस सम्मान कार्यक्रमको आयोजनालाई सफल बनाउन अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर तथा प्रतियोगिताका प्राविधिक निर्देशक रविन्द्र गुप्ताको विशेष पहल र महत्वपूर्ण योगदान रहेको छ । प्रतियोगिताको अवधारणा, व्यवस्थापन तथा आयोजनालाई मूर्तरूप दिन गुप्ताले निरन्तर सहयोग र समन्वय गर्दै आएका छन् ।
अन्तर्राष्ट्रिय स्तरमा अम्पायरका रूपमा आफ्नो अनुभव हासिल गरेका रविन्द्र गुप्ताले खेलाडीलाई प्रोत्साहन गर्नु नै नेपाली क्रिकेटको भविष्यमा लगानी गर्नु भएको बताए ।
गुप्ताले भने, “खेलाडीले मैदानमा गरेको मेहनत र संघर्षलाई सम्मान गर्न सकियो भने त्यसले उनीहरूलाई अझ राम्रो गर्न ऊर्जा दिन्छ । मनीषाजस्ता प्रतिभाशाली खेलाडीलाई सम्मान गर्नु उहाँको योगदानको कदर मात्र होइन, आगामी पुस्ताका खेलाडीलाई पनि सपना देख्न र त्यसका लागि मेहनत गर्न प्रेरित गर्ने माध्यम हो । नेपाली क्रिकेटलाई अगाडि बढाउन हामी सबैले आफ्नो ठाउँबाट सकेको योगदान गर्नुपर्छ ।”
उनले स्थानीय स्तरमा आयोजना हुने क्रिकेट प्रतियोगिताले नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उल्लेख गर्दै खेलाडी, आयोजक, प्रशिक्षक, अम्पायर र क्रिकेटप्रेमीबीचको सहकार्यबाट नेपाली क्रिकेटलाई थप मजबुत बनाउन सकिने बताए ।
यसैबीच, मनीषा उपाध्याय नेपाली महिला क्रिकेटमा आफ्नो मेहनत, अनुशासन र निरन्तर प्रदर्शनका माध्यमबाट नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत बन्दै आएकी छन् । राष्ट्रिय टोलीका लागि मैदानमा गरेको उनको योगदानले नेपाली महिला क्रिकेटको सम्भावना र क्षमतालाई थप उजागर गरेको छ । उनको खेलयात्रामा गरिएको यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गर्ने विश्वास आयोजकको छ ।
सम्मानपछि प्रतिक्रिया दिँदै राष्ट्रिय महिला क्रिकेटर मनीषा उपाध्यायले ‘स्व. रमा देवी स्मृति क्रिकेट कप’का आयोजकप्रति आभार व्यक्त गरेकी छन् । नेपाली क्रिकेटमा आफूले गरेको योगदानको कदर गर्दै गरिएको सम्मानले आफूलाई थप उत्साह र प्रेरणा मिलेको उनले बताइन् ।
मनीषाले ६० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्दा आफू निकै खुसी भएको उल्लेख गर्दै यो सम्मानलाई आफ्नो खेलयात्राका लागि विशेष क्षणका रूपमा लिएको बताइन् । उनले आफू अत्यन्तै उत्साहित र खुसी भएको प्रतिक्रिया दिइन् ।
नेपाली महिला क्रिकेटका लागि आगामी दिनमा अझ मेहनत गर्ने प्रेरणा मिलेको बताउँदै मनीषाले आयोजक प्रतियोगिता निर्देशक राज क्षेत्रीसहित सम्पूर्ण आयोजक टिमलाई धन्यवाद दिइन् । उनले खेलाडीको प्रदर्शनको सम्मान र प्रोत्साहनले मैदानमा अझ राम्रो गर्न ऊर्जा प्रदान गर्ने उल्लेख गरिन् ।
स्व.रमा देवी स्मृति क्रिकेट कप आगामी अक्टोबर १३, २०२६ मा अर्घाखाँचीमा आयोजना हुँदैछ । प्रतियोगिताले स्थानीय क्रिकेटको प्रवर्द्धनसँगै प्रतिभाशाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।
