अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिगको फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । लिगमा शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा पुग्ने प्रावधान छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा अन्नपूर्णले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेटमा २१–२५ ले पछि परेको अन्नपूर्णले बाँकी सेटको नतिजा लगातार आफ्नो पक्षमा पार्यो । अन्नपूर्णले दोश्रोमा २५–२३, तेश्रोमा २५–१४ र चौथोमा २५–२० को प्रदर्शन गर्दै जित सुनिश्चित गरो। अन्नपूर्णका एन्ख एर्डेन जार्गाल्ट्सगोट ‘म्यान अफ द म्याच’ घोषित भए ।

छ टिम सहभागी लिगमा अन्नपूर्णको यो लगातार चौथो जित हो । पहिलो खेलमा अन्नपूर्ण कर्णाली शिवरजासंग ३–१ ले पराजित भएको थियो । अन्नपूर्णले दोश्रो खेलमा काठमाडौं रेड्सलाई ३–०, तेश्रोमा मधेश वारियर्सलाई ३–१ र खप्तड फाल्कन्सलाई ३–० ले हराएको थियो । सगरमाथा लगातार तेश्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतियोगिताअन्तर्गत बिहीबारै २ खेल हुन बाँकी छ । मधेश र कर्णालीबीच ४ः०० बजे र काठमाडौं रेड्स र खप्तडबीच ७ः०० बजे खेल हुनेछ ।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । लिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन् ।

नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ । यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो । विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ । फाइनल भदौ २७ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *