नेपालले मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कपमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । बहराइनले दिएको ८८ रनको लक्ष्य नेपाली टोलीले २१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका लागि ओपनर अर्जुन कुमाल ३६ रनमा नटआउट रहे । उनले ५८ बलमा ५ चौका प्रहार गरे । रोहित पौडेल १९ रनमा अविजित रहे । उनले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, आसिफ शेखले १८ र देव खनालले १० रनको योगदान दिए । इशान पाण्डे भने १ रनमै पभिलियन फर्किएका थिए । बहराइनका लागि इमरान जावेद अनवरले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटिएको थियो ।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रनको योगदान दिए । यस्तै, मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए । सन्दीपले १० औभरमा १४ रन खर्चिँदै ५ विकेट लिएका थिए ।
यस्तै, ललित नारायण राजवंशीले ३ र करण केसीले २ विकेट लिए । ललितले ६.२ ओभरमा २० रन खर्चिएर ३ विकेट लिँदा करणले ८ ओभरमा १४ रन खर्चिँदै २ विकेट लिएका थिए ।
नेपालले अब दोस्रो खेलमा बिहीबार घरेलु टिम मलेसियासँग खेल्नेछ ।
