एसीसी प्रिमियर कपको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ ।

मंगलबार क्वालालाम्पुरस्थित सेलान्गोर टर्फ मैदानमा प्राप्त गरेको २२८ रनको नयाँ लक्ष्य नेपालले २८ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । 

वर्षाका कारण केही समय अवरुद्ध भएको खेललाई ४८ ओभरमा झारेर नेपाललाई नयाँ लक्ष्य प्रस्तुत गरिएको हो । 

नेपालका लागि आसिफले सर्वाधिक १६१ रनक बनाए । उनले ८५ बलमा १२ चौका र १२ छक्का प्रहार गरे । पहिलो विकेटका लागि आसिफ र अजुर्नबीच २२० रनको उत्कृष्ट साझेदारी भएको थियो । यसैगरी, अर्जुन ६१ रनमा अविजित रहे । उनले बलमा ८२ बलमा सात चौका प्रहार गरे । 

मलेसियाका लागि एक मात्र विकेट अस्लाम खान मलिकले लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाएर २३२ रनको योगफल तयार पारेको थियो । 

मलेसियाका मोहम्म स्याहदत रमीलले सर्वाधिक ६१ रन प्रहार गरे । यसैगरी, सैफुल्लाह मलिकले ४५, कप्तान सैयद अजिजले ४०, विरनदिप सिंहले ३९ र अकिल वाहिदले १५ रनको योगदान दिए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । उनले १० ओभर बलिङ गरेर ५४ रन खर्चिए । यसैगरी, करण केसीले २ तथा दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले १-१ विकेट लिए । 

नेपालले मलेसिया आउनुअघि भारतमा कर्नाटकसँग भएको दुई अभ्यास खेल जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *