राष्ट्रिय पाराओलम्पिक कमिटी नेपालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा पाँचौं एनपीसी नेपाल ह्वीलचियर रेस च्याम्पियनसिप २०२४ को आयोजना गरेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटी (आईपीसी) को एकमात्र सदस्य संगठनको रूपमा रहेको एनपीसी नेपालले अपाङ्गता भएका एथलीटहरूको भावना र प्रतिभाको कदर गर्दै प्रतियोगितालाई निरन्तरता दिदै आएको छ ।

प्रतियोगिताको पाँचौ संस्करणमा १५० जना ह्वीलचियर खेलाडीहरूको सहभागिता रहेको थियो। जसमा पुरुषतर्फ रमेश खत्री १५ हजार नगदसहित प्रथम हुँदा रामकाजी मिजार १० हजार नगदसहित दोस्रो तथा दान थेङ ५ हजार रुपैयाँ प्राप्त गर्दै तेस्रो भए ।

यस्तै महिलामा ऐश्वर्याकुमारी कुमाल १५ हजार रुपैयाँ प्राप्त गर्दै पहिलो हुँदा रजनी चाम्लिङ राई १० हजार नगदसहित दोस्रो र यामी झाक्री मगर ५ हजार नगद प्राप्त गर्दै तेस्रो भइन् ।

कार्यक्रमका संयोजक तथा पारा एथलेटिक्स संघ नेपालका अध्यक्षले कार्यक्रमको महत्वलाई प्रकाश पार्दै भने, ‘यस च्याम्पियनसिपले हाम्रा खेलाडीहरूको प्रतिस्पर्धात्मक भावनालाई उजागर गर्ने मात्रै नभई खेलकुदमा समावेशीताको महत्वलाई पनि उजागर गरेको छ। हामी देशभरका प्यारा-एथलीटहरूको प्रवर्द्धन र समर्थन गर्न समर्पित छौं।’

यस्तै एनपीसी नेपाल प्यारा-एथलीटहरूको लागि सहयोगी वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको र उनीहरूलाई उनीहरूको सम्बन्धित खेलकुदमा उत्कृष्टता हासिल गर्न आवश्यक अवसर र स्रोतहरू सुनिश्चित गर्न तयार रहेको समेत उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *