काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले विश्व खेलकुद पत्रकार दिवसको उपलक्ष्यमा बिहीबार नेपाल इन एसियन गेम्स रोड टु आइची–नागोया संवाद कार्यक्रम आयोजना गरेको छ ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहताले एसियाली खेलकुदमा स्वर्ण पदकसहित दोहरो अङ्कमा पदक जित्ने सरकारको लक्ष्य पूरा गर्न आफूहरु लागि परेको र अब आगामी महिनादेखि खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणमा पठाउने तयारी भइरहेको बताएका छन् ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले राखेपले एसिायडको तयारी उल्लेखनीय रुपमा गरिरहेको बताए ।
हाङझाव एसियाडमा ऐतिहासिक रजत पदक विजेता कराँते खेलाडी एरिका गुरुङले एसियाडमा रजत पदक जितेर आएपछि नै राखेपले मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण राखेपछि अहिले खेलाडीहरुले ३६५ दिननै राम्रो प्रशिक्षण गर्ने अवसर पाएकाले आफूले मात्र नभइ अन्य खेलाडीले आइची–नागोया एसियाडमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चका अधयक्ष निरञ्जन अधिकारीले एक सय वर्ष अघि एआइपिएसको गठन हुँदाको दिन जुलाई २ लाई नै विश्व खेलकुद पत्रकार दिवसको रुपमा मनाउँदै आएको जानकारी दिए । सो संवाद कार्यक्रमको सहजकर्तामा एआइपिएसका कोषाध्यक्ष निरञ्जन राजवंशी रहेका थिए ।
