काठमाडौँ । नेपाल र भारतका प्रतिस्पर्धी क्रिकेट टोलीहरूको सहभागिता रहने ‘केपीएल कप इन्टरनेसनल इन्भिटेसनल टूर्नामेन्ट २०२६’ को एक्सन स्पोर्ट्स एचडीमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ । क्रिकेटप्रेमी दर्शकहरूले असार १२ गतेदेखि असार २३ गते (जुन २६ देखि जुलाई ७, २०२६) सम्म सञ्चालन हुने यस रोमाञ्चक प्रतियोगिताका सबै महत्वपूर्ण खेलहरू एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष हेर्न सक्नेछन् ।

सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकास्थित डा. खलिल आजाद क्रिकेट स्टेडियममा आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब तथा क्रिकेट एकेडेमी टोलीहरूको सहभागिता रहनेछ । यो प्रतियोगिताले नेपाल–भारत क्रिकेट सम्बन्धलाई थप मजबुत बनाउनुका साथै स्थानीय तथा क्षेत्रीय स्तरका प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

यस प्रतियोगितामा इटहरी सुपर किंग्स, छिन्नमस्ता लायन्स, मिल्स क्रिकेट क्लब एन्ड एकेडेमी, एचपिसिए पटना (भारत), केसिसी (भारत) तथा आरएमएल स्पोर्ट्स एकेडेमी (भारत) लगायतका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता टी-२० फर्म्याटमा सञ्चालन हुनेछ ।

सार्वजनिक गरिएको तालिका अनुसार प्रतियोगिताअन्तर्गत लिग चरणका खेलहरू जुन २६ देखि जुलाई ३ सम्म हुनेछन् । यसैगरी, जुलाई ४ मा क्वालिफायर १ र एलिमिनेटर, जुलाई ५ मा क्वालिफायर २, जुलाई ६ मा आरामको दिन (रेस्ट डे) र जुलाई ७, २०२६ मा फाइनल खेल आयोजना गरिनेछ ।

क्रिकेटप्रेमी दर्शकहरूलाई उच्चस्तरीय प्रतिस्पर्धा, युवा प्रतिभा र रोमाञ्चक खेलको अनुभव दिलाउने उद्देश्यसहित एक्सन स्पोर्ट्स एचडीले यस प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्न लागेको हो । केपीएल कप इन्टरनेसनल इन्भिटेसनल टूर्नामेन्ट २०२६ ले नेपाली क्रिकेटको विकास, अन्तर्राष्ट्रिय एक्सपोजर तथा खेल पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *