सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि सुबाश तामाङले प्ले-अफमा जितेका छन् । प्ले-अफको पहिलो होलमा भुवन नगरकोटी र एमेच्योर सदभाव आचार्यलाई हराउँदै उनी च्याम्पियन भएका हुन् । उनले उपाधिसँगै ३ लाख २० हजार नगद पुरस्कार जिते ।
सुबाश, भुवन र सदभाव तीनै जनाले ७२ होलको खेल समग्रमा १८-अन्डर २ सय ७० मा सकाए । यो सँगै खेलको निर्णय प्ले-अफबाट भयो। प्ले-अफमा सुबाशले पार खेले । भुवन र सदभाव दुवैले पार पट मिस गरे । यो सँगै सुबाश च्याम्पियन बने । भुवन दोस्रो भए । उनले नगद २ लाख ६ हजार पाए ।
सुबाशले आज ३-अन्डर ६९ खेले । तेस्रो होलको बोगीका विरूद्ध सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन इभन-पार ३६ खेले । यसपछि ११ औं देखि १३ औं होलसम्म तीन बर्डी सहित ३-अन्डर ३३ मा सकाए ।
भुवनले ४-अन्डर ६८ मा खेल पुरा गरे । दोस्रो होलमा बोगी खेलेका उनले तेस्रो,चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे। फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । यसपछि ११ औं र १७ औं होलमा बर्डी प्रहार गर्दा डबल बोगी खेल्दै इभन-पार ३६ खेले ।
सदभावले आज दिनकै उत्कृष्ट ६-अन्डर ६६ को स्कोर कार्ड तयार पारे । उनले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ खेले । उनले तेस्रो, छैटौं, नवौं, १२ औं, १६ औं र १८ औं होलमा बर्डी प्रहार गरे । यो उत्कृष्ट स्कोरमा प्ले अफमा पुगेका सदभाव एमेच्योरतर्फ विजेता बने । उनले राहुल विश्वकर्मालाई ८ स्ट्रोकले हराए ।
आज फाइनल ग्रुपमा खेलेका शुक्र बहादुर राई समग्रमा १५-अन्डर २ सय ७३ सहित चौथो भए । आज ३-अन्डर ७९ मा खेल पुरा गरे । प्रोतर्फ तेस्रो भएका उनले १ लाख ६२ हजार हात पारे ।
साबिक विजेता राहुल समग्रमा १०-अन्डर २ सय ७८ को स्कोरमा पाँचौं भए । उनले अन्तिम दिनको खेल इभन-पार ७२ खेले । एमेच्योरतर्फ उनी दोस्रो भए । एमेच्योर तेन्जिङ छिरिङ्ग समग्रमा ७-अन्डर २ सय ८१ सहित सातौं स्थानमा खेल सकाए । एमेच्योरतर्फ उनी तेस्रो भए ।
समग्रमा ३-अन्डर २ सय ८५ सहित दिनेश प्रजापति सातौं भए । प्रोतर्फ चौथो भएका उनले १ लाख ४५ हजार हात पारे । समग्रमा १-अन्डर २ सय ८७ सहित एमेच्योर वाङचेन ढोन्डुप आठौं भए । नेपाल नम्बर एक प्रो निरज तामाङ नवौं भए । उनले इभन-पार २ सय ८८ मा यो प्रतियोगिता पुरा गरे । प्रोतर्फ पाँचौं भएका उनले १ लाख २८ हजार नगद पुरस्कार पाए ।
समग्रमा १-ओभर २ सय ८९ सहित प्रोहरू भुवन कुमार रोक्का, तोरण विक्रम शाही, सञ्जय लामा तथा एमेच्योरहरू नोर्बु छिरिङ्ग शेर्पा र रितेश तामाङले समग्रमा दशौं स्थान बाँडे ।
प्रोतर्फ भुवन, तोरण र सञ्जय प्रोतर्फ छैटौं भए । उनीहरूले जनही ९६ हजार ३ सय ३३ नगद पुरस्कार हात पारे ।
विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका म्यानेजिङ डिरेक्टर गौरव तयाल र एनपिजिएका अध्यक्ष रविन्द्रमान श्रेष्ठले पुरस्कार प्रदान गरे। कुल १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगितामा शीर्ष १८ जना प्रोले नगद पुरस्कार प्राप्त गरे ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ को आठवटा प्रतियोगिता सकिएसँगै आगामी सिजन भुवन नगरकोटी नम्बर एक खेलाडी हुने भएका छन् । उनले यो सिजन कुल १० लाख ३३ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे । यो क्रममा उनले ४ प्रतियोगिताको उपाधि जिते ।
कुल ७ लाख २७ हजार ३ सय ३३ नगद पुरस्कार जित्दै नम्बर अर्डर अफ मेरिटमा दोस्रो स्थानमा रहे । दिनेश प्रजापति तेस्रो, जयराम श्रेष्ठ चौथो र सञ्जय लामा क्रमश तेस्रो, चौथो र पाँचौं स्थान रहे । दिनेशले ६ लाख २९ हजार ८ सय ३३, जयरामले ५ लाख ११ हजार ५ सय र सञ्जयले ४ लाख ७८ हजार ३ सय ३३ नगद पुरस्कार पाए ।
सिजनको कुल ८० लाख नगद पुरस्कार राशी रहेको यो सिजन कुल ३६ प्रोफेसनल खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरे ।
