काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन भुवन नगरकोटी समग्रमा १३–अन्डर १ सय ३१ को स्कोरमा शीर्षस्थानमा कायमै रहेका छन् ।

गोकर्ण गल्फ क्लबमा आज ४–अन्डर ६८ को स्कोरमा उनले एमेच्योर सदभाव आचार्यलाई २ स्ट्रोकले पछि पारेका छन् । सदभावले ६–अन्डर ६६ खेल्दै समग्रमा ११–अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहेका छन् ।

प्रोफेसनल गल्फ टुर अफ इण्डिया (पीजीटीआई) खेलिरहेका सुबाश तामाङ र शुक्रबहादुर राई समग्रमा ८–अन्डर १ सय ३६ सहित समग्रमा तेस्रो स्थानमा रहेका छन् । सुबाशले ५–अन्डर ६७ र शुक्रले ४–अन्डर ६८ मा दोस्रो दिनको खेल सकाए । एमेच्योर राहुल विश्वकर्मा समग्रमा ६–अन्डर १ सय ३८ सहित पाँचौँ स्थानमा उक्लिएका छन् । उनले ४–अन्डर ६८ को कार्ड बनाए । समग्रमा ५–अन्डर १ सय ३९ मा तेन्जिङ छिरिङ र ३–अन्डर १ सय ४१ खेलेका वाङचेन ढोन्डुप क्रमश छैटौँ र सातौँ स्थानमा छन् । दुवै एमेच्योर खेलाडीले आज इभन–पार ७२ खेले । समग्रमा २–अन्डर १ सय ४२ सहित सञ्जय लामा र तोरण विक्रम शाहीले संयुक्त रूपमा आठौँ स्थान बाँडे । सञ्जयले ४–अन्डर ६८ र तोरणले २–ओभर ७४ को स्कोर निकाले ।

यस्तै समग्रमा १–अन्डर १ सय ४३ बनाएका दिनेश प्रजापति दशौँ स्थानमा छन् । उनले आज २–ओभर ७४ मा खेल सकाए । पहिलो दिनका लिडर भुवनले आज फ्रन्ट र ब्याक नाइन दुवै २–अन्डर ३४ मा सकाए । उनले पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरे । फ्रन्ट नाइन बोगी रहित खेले । यसपछि १०औँ होलमा एक सट खेर फाले पनि ११औँ, १४औँ र १५औँ होलमा एक–एक सट बचाए । सदभावले दोस्रो, तेस्रो, चौथो र सातौँ होलमा बर्डी प्रहार गर्दा आठौँ होलमा एक सट खेर फाले । फ्रन्ट नाइन ३–अन्डर ३३ खेले ।

यसपछि १०औँ, १२ औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गरे । १४औँ होलमा एक सट खेर फाल्दा ब्याक नाइन पनि ३–अन्डर ३३ मा सकाए । सुबाशले फ्रन्ट नाइन इभन–पार ३६ खेले । दोस्रो र आठौँ होलमा बोगी खेपेका उनले छैटौँ र नवौँ होलमा बर्डी प्रहार गरे । १० औँ होलमा एक सट बचाएका उनले ११ औँ होलमा डबल बोगी खेपे । यसपछि १२औँ देखि १५औँ होलमा लगातार ४ वटा बर्डीको सफलता प्राप्त गरे । १७औँ र १८औँ होलमा पनि एक–एक सट बचाए । उनले ५–अन्डर ३१ मा ब्याक नाइन पूरा गरे । शुक्रले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए । दोस्रो, तेस्रो, सातौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरेका उनले छैटौँ होलमा एक सट खेर फाले । यसपछि बाँकी नौ होलमा पार जोगाएका उनले ब्याक नाइन इभन–पार ३६ खेले । ३६ होलको समाप्तीमा ६–ओभर १ सय ५० स्कोर गरेका १८ प्रो र ७ एमेच्योर गरी कुल २५ खेलाडीले कट बनाएका छन् । प्रोतर्फ रमेश अधिकारी, नेपाल नम्बर एक निरज तामाङ, भुवन कुमार रोक्का, धन बहादुर थापा, जयराम श्रेष्ठ, पुर्ण प्रसाद शर्मा, राजेन्द्र थापा मगर, बलभद्र राई, रूपक आचार्य, सञ्जिब बहादुर नेपाली, सूर्य प्रसाद शर्मा र सुमन परियारले कट बनाए ।

एमेच्योरतर्फ रितेश तामाङ, नोर्बु छिरिङ्ग शेर्पा र सोहम अग्रवाल पनि कट बनाउन सफल रहे । सिजनकै सर्वाधिक १८ लाख नगद पुरस्कार राशी रहेको प्रतियोगिता रामे मगर, रबि खड्का, टंक कार्की, प्रदीप कुमार लामा र दीपक मगरले कट बनाउन सकेनन् । विजेताले उपाधिसँगै नगद ३ लाख २० हजार प्राप्त गर्नेछन् । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश २ लाख ६ हजार, १ लाख ६२ हजार र १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । शनिबार प्रो–एम प्रतियोगिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *