विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले काठमाडौँमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्डमा २८ पदक जित्न सफल प्रदेशका २७ खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।
आज विराटनगरमा सम्पन्न सम्मान कार्यक्रममा बोर्डले प्रतियोगितामा ४ स्वर्ण, ७ रजत र १७ कास्य पदक जित्न सफल २७ खेलाडीलाई नगदसहित सम्मान गरेको हो ।
सम्मानित हुने खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री रामप्रसाद मेहता, आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुली र बोर्डका सदस्य सचिव विप्लव घोषलेलगायतले सम्मान गरे ।
सम्मान कार्यक्रममा स्वर्ण पदक प्राप्त खेलाडीहरूलाई जनही १ लाख नगद, रजत पदक प्राप्त खेलाडीलाई जनही ७५ हजार नगद र कास्य पदक प्राप्त खेलाडीहरूलाई जनही ५० हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओडाएर सम्मान गरेको जानकारी दिए । उनले प्रतियोगितामा पदक जित्न सफल एथलेटिक्स, कराते, उसु र तेक्वान्दो खेलका प्रशिक्षक र व्यवस्थापकलाई समेत क्रमश ः १५ हजार र १० हजार नगदसहित सम्मान गरेको बोर्डका सदस्य सचिव घोषले बताए ।
त्यस्तै, प्रतियोगितामा कोशी प्रदेशको नेतृत्व गरेर गएका टोली नेता र उपनेतालाई समेत १० हजार नगदसहित सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खेलाडीहरूलाई गरेको प्रतिबद्धता बमोजिम प्रतियोगिता सम्पन्न भएको हप्ता दिनभित्र सम्मान गर्न सफल भएको बताए । उनले खेल क्षेत्रमा सीमित स्रोत र सुविधाको उपयोग गर्दै खेलाडीहरूले ल्याउनु भएको सफलता लोभलाग्दो भएको बताउँदै प्रदेश सरकारले खेलाडीहरूलाई सदैव प्रोत्साहन गर्ने बताए ।
मुख्यमन्त्री कार्कीले १७ औँ राष्ट्रपति रनिङ शिल्ड कोशी प्रदेशमा हुने हुँदा उक्त प्रतियोगिताका लागि आवश्यक रकम प्रदेश सरकारको बजेटमा विनियोजन गर्ने तयारी गरेको जानकारी दिए ।
जेठ २० देखि २२ गते सम्म काठमाडौँमा सम्पन्न प्रतियोगितामा २८ पदक जित्दै कोशी प्रदेश ५ औँ स्थानमा रहन सफल भएको थियो । उक्त प्रतियोगिताको १७ औँ संस्करण कोशी प्रदेशमा हुनेछ ।
