दोलखा । दोलखा चेस होम, नेपालको आयोजनामा सम्पन्न बुद्धिचाल महासंघका पूर्व उपाध्यक्ष सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका राहुल गुरुङले जितेका छन् ।
चरिकोट स्थित सिम्पानी सभाहलमा शुक्रबार १९८१ रेटेड राहुलले नेपालका २१५५ रेटेड एफएम रुपेश जैसवाल विरुद्ध पाउण्ड रुक इन गेममा दबाब श्रृजना गर्दै जीत हासिल गर्न सफल भएका छन् ।
महत्त्वपूर्ण अन्तिम नवौं चरण सुखद् बनाउदै भारतका राहुलले एकल ७.५ अंक जोडेर नगद पुरस्कार रु. २५ हजार, आकर्षक ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
रसियन जिएम २४४१ रेटेड खेलाडी किरियाकोभ पिटले नेपाली २११० रेटेड आशिष फूँयाल सँग छरितो बराबरी खेल्दै ७ अंक प्रोग्रेसिभ ५०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान सुरक्षित गरेका छन् ।
प्रतियोगिताका शीर्ष खेलाडी ग्राण्ड मास्टरले १५ हजार नगद पुरस्कार ग्रहन गरेका छन् । प्रोग्रेसिभ ४८.५ प्वाइन्ट समान ७ अंक जोडेर भारतका १६०६ रेटेड रनित मैतितृतीय स्थानमा रापिड खेल टुङ्ग्याएर नगद रु. १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
अन्तिम चरणको प्रतिस्पर्धामा चुकेका नेपाली एफएम रुपेश जैसवालले ६.५ अंकमा सिमित रहँदै राम्रो ४९ प्रोग्रेसिभ प्वाइन्ट जोडेर चौथो स्थानको नगद रु. ७ हजार ५ सय पुरस्कार जितेका छन् ।
एफएम सुजेन्द्र प्रसाद श्रेष्ठ स्मृति अन्तर्राष्ट्रिय रापिड चेसमा ८ राष्ट्रका खेलाडी सहभागी जनाएका मध्ये ६.५ अंक जोडेर भारतका १९१३ रेटेट थेन्दुप तामाङ पाँचौ, बंगलादेशका २२०१ रेटेड एफएम नयम हक छैटौं भएका छन् ।
स्पर्धामा समान ६.५ अंक जोडेर नेपालका युवा २१७८ रेटेड सिएम पुरुषोत्तम सिलवाल सातौं, २०१६ रेटेड धिरेन राई आठौं, ६ अंकका साथ २११० रेटेड आशिष् नवौं तथा २०६२ रेटेड रिसोन थापा दशौं बन्न सफल भएका छन् ।
प्रतियोगिताको रापिड विधा तर्फ शीर्ष १५ जना सहित उत्कृष्ट महिला, सिनियर, लोकल, युवा १२,१४,१६ वर्ष, नयाँ खेलाडी, रेटिङ १६ र १८ सय मुनिका विजेताले १ लाख ७१ हजार ५ सय पुरस्कार प्रदान गरेका छन् ।
संयोजक गोविन्दमान श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि भिमेश्वर नगरपालिकाका इश्वर नारायण मानन्धर, विशेष अतिथि मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, बुद्धिचाल महासंघका सचिवालय सदस्य राजु ताम्राकार, वरिष्ठ पत्रकार गोविन्द रेग्मी लगायतले पुरस्कार वितरण गरेका छन् । नगद रु. ५,०२,५००/- पुरस्कार रहेको छैटौं दोलखा खुल्ला बुद्धिचाल मुख्य प्रतिस्पर्धा शनिबार विहान अन्तिम चरणको खेल पश्चात् समापन समारोह कार्यक्रम हुनेछ ।
