विराटनगर । विराटनगर महानगरपालिका मेयरकप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
विराटनगरको बैजनाथपुर खेलमैदानमा बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वडा नम्बर १६ ले वडा नम्बर १७ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
वडा नम्बर १६ को जितमा नवीन मगरले ह्याट्रिक गरे भने आलोक श्रेष्ठ एक गोल गरे । वडा नम्बर १७ ले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलमा ह्याट्रिक गरेका नवीन मगर खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद रु. १,१११ प्राप्त गरे ।
वडा नम्बर १६ ले फाइनल प्रवेशका लागि वडा नम्बर १३ सँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत बिहीवार पहिलो सेमिफाइनल खेल हुनेछ । जसमा वडा नम्बर १९ र वडा नम्बर ११ बीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर महानगरपालिका वडा नम्बर १९ को आयोजना तथा पोखरिया युथ केयर एकेडेमीको संयोजनमा जारी प्रतियोगितामा विराटनगरका १० वटा वडाको सहभागिता रहेको छ ।
प्रतियोगिता जेठ ३ गतेसम्म सञ्चालन हुनेछ । विजेता टोलीले नगद ८० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
