काठमाडौं । नेपाल डाेरी तान संघ तथा केन्द्रीय डाेरी तान संघ प्राविधिक समितिको संयुक्त आयोजनामा प्रथम “प्राविधिक गोष्ठी” नयाँ बानेश्वरमा सम्पन्न भएको छ ।
काठमाडौं डाेरी तान संघका अध्यक्ष श्री मदनलाल श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय मास्टर प्रशिक्षक अशोककुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।
कार्यक्रममा नेपाल डाेरी तान संघ केन्द्रीय वार्षिक उपाध्यक्ष तथा प्राविधिक विभाग प्रमुख सूर्यबहादुर महर्जन, केन्द्रीय सचिव कृष्ण जोशी, काठमाडौं जिल्ला उपाध्यक्ष उद्धव आचार्यलगायत विभिन्न खेलकुद व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन गौरी खरेलले गरेका थिए ।
गोष्ठीमा टग अफ वार खेलसम्बन्धी प्राविधिक प्रशिक्षण, खेलका नियम, प्रतियोगिता सञ्चालन प्रक्रिया तथा खेलाडीहरूको क्षमता अभिवृद्धिबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।
प्राविधिक प्रशिक्षणको सैद्धान्तिक पक्ष सूर्यबहादुर महर्जनले प्रस्तुत गरेका थिए भने प्रयोगात्मक प्रशिक्षण केन्द्रीय टग अफ वार संघका प्रशिक्षक श्री प्रभातमान सिंहले सञ्चालन गरेका थिए। कार्यक्रममा रेफ्री समूह, खेल प्रशिक्षक, खेलाडी तथा सहभागीहरूलाई खेलसम्बन्धी विविध प्राविधिक जानकारी र प्रयोगात्मक अभ्याससमेत गराइएको थियो ।
कार्यक्रममा उपस्थित सहभागीहरूले यस्ता गोष्ठीले खेलकुद क्षेत्रलाई थप व्यवस्थित, प्रभावकारी र अनुशासित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।
