काठमाडौं । चौथो मण्डिखाटार जुनियर टेनिस प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलहरूमा आसभ हाडा र सारा पन्तले दोहोरो उपाधि जित्न सफल भएका छन् ।
मण्डिखाटार टेनिस क्लबको कोर्टमा भएको यू-१६ र यू-१८ ब्वाइजतर्फको दुवै फाइनल जित्दै आसभले आफ्नो दबदबा कायम राखे भने साराले यू-१२ र यू-१४ गर्ल्सतर्फको उपाधि आफ्नो पोल्टामा पारिन् ।
शनिबार बिहान भएको यू-१६ ब्वाइज फाइनलमा आसभले अर्याश राज पौडेललाई ७-५, ६-१ को सोझो सेटमा पराजित गरे । लगत्तै भएको यू-१८ ब्वाइजको कडा प्रतिस्पर्धात्मक फाइनलमा आसाभले शास्वत बज्राचार्यलाई ६-३, ७-६ ले हराउँदै दोहोरो उपाधि पक्का गरे ।
गर्ल्सतर्फ सारा पन्तको प्रदर्शन पनि लोभलाग्दो रह्यो । साराले यू-१४ को फाइनलमा स्वरा थापालाई ६-२, ६-२ को सेटमा सहजै पाखा लगाइन्। त्यसैगरी यू-१२ गर्ल्सको फाइनलमा उनले नाइरा घलेलाई ६-०, ६-३ को अन्तरले पराजित गर्दै प्रतियोगितामा दोस्रो उपाधि थपिन् ।
ब्वाइजतर्फको अन्य स्पर्धामा आरित मल्ल र विश्व डल्लाकोटीले उपाधि जिते । यू-१२ ब्वाइजतर्फ आरितले सभ्य जे कार्कीलाई ६-२, ६-३ ले पराजित गरे भने यू-१४ ब्वाइज फाइनलमा विश्वले अर्याश राज पौडेललाई ६-२, ६-४ को सेटमा हराउँदै उपाधि जिते । अर्याशले प्रतियोगितामा दुईवटा फाइनल खेले पनि दुवैमा उपविजेतामै चित्त बुझाउनु पर्यो । जेठ २२ गतेदेखि सुरु भएको यो प्रतियोगिता आज शनिबार भव्य रूपमा समापन भएको छ ।
