तेक्वान्दो टोलीको बिदाइ

२०८३, ५ बैशाख शनिबार १०:५८

काठमाडाैं । इन्टरनेशनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को नेपाल च्याप्टरले तीन छुट्टा–छुट्टै अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।

आइओएफटिसीले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै तीनै वटा टोलीलाई केल्मी ब्रान्डको ट्रयाकसुट प्रदान गर्दै बिदाइ गरेको हो । आगामी अप्रिल २४ देखि २६ सम्म हुने जापान वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रविण श्रेष्ठ, सन्देश अधिकारी र गणेशबहादुर खड्काले प्रतिस्पर्धा गर्दैछन् । यो प्रतियोगिताको टोली प्रमुखमा गिरिबहादुर सुनार रहेका छन् । सुनार आइओएफटिसी नेपालका महासचिव समेत हुन् ।

यस्तै मे २ देखि ३ सम्म आयोजना हुने मलेसिया ओपन तेक्वान्दोमा सन्दीप न्यौपाने र अफिसियलको रुपमा दिवाकर केसीले सहभागिता जनाउँदैछन् । मे २ देखि ५ सम्म चीनमा हुने हाइनान अन्तर्राष्ट्रिय ओपन च्याम्पियनसिपमा नेपालका भिजन तामाङ, सन्दीप बस्नेत, आयुश बोहराले प्रतिस्पर्धा गर्दा इन्द्रराज खड्का अफिसियलको रुपमा सहभागी हुने कार्यक्रम छ ।

सबै खेलाडी तथा अफिसियललाई आइओएफसिटीका अध्यक्ष मिनप्रसाद खनाल र पदाधिकारीले बिदाइ गर्दै ट्रयाक सुट प्रदान गरेका थिए । अमेरिकामा मुख्यालय रहेको आइओएफसिटीले गत पुसमा आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा नेपालमा १५औं संस्करणको प्रतियोगिता आयोजना गरेको थियो । अब १६औं संस्करण आगामी नोभेम्बरमा अस्ट्रेलियाको मेलवर्नमा आयोजना गर्ने तयारीमा आइओएफटिसी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *