रानीवनमाथि आरसी ३२ को फराकिलो जित

२०८१, २२ जेष्ठ मंगलवार १५:३५

आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मंगलबार रानीवन स्पोर्टस क्लबविरुद्ध ५-० को फराकिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा आरसी ३२ लाई जित दिलाउन सञ्जय सुब्बाले दुई तथा कप्तान रोहन कार्की, विवेक राई र किस्मत लिम्बुले समान एक गोल गरे ।

जितसँगै १२ खेलमा २६ अंक जोडेको आरसी ३२ दोस्रो स्थानमा छ । पराजित रानीवन समान खेलबाट आठ अंकका साथ १३औं स्थानमा छ ।

खेलको ३४औं मिनेटमा रोहनको गोलमार्फत आरसी ३२ ले अग्रता लियो । १० मिनेटपछि विवेकले टोलीको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको इन्जुरी समयमा किस्मतले पेनाल्टीमार्फत गोल गर्दा आरसी ३२ ३-० ले अगाडि बढ्यो । सञ्जयले ६६ औं मिनेट र खेलको इन्जुरी समयमा गोल गर्दै टोलीलाई ५-० को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *