विराटनगर । नाईजेरीयाको जस्ट जोन फुटबल क्लब प्रथम बुढीगंगा गाोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित अमाही खेलमैदानमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा भारत सिलगुडीको कञ्चनजंघा फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै जस्ट जोनले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।

जस्ट जोनको जितमा अफिज ओलावी, डेभिड ओले र हम्जाद डेमोलाले समान १-१ गोल गरे । कञ्चनजंघाका लागि अनिश राईले एक गोल फर्काए । खेलको म्यान अफ दि म्याच जस्ट जोनका अफिज ओलावी चुनिए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल सलहेश युबा क्लब, सिराह र धरान फुटबल क्लब, सुनसरीबीच हुनेछ ।

चैत २७ गतेसम्म हुने प्रतियोगितामा आयोजकसहित ८ वटा टोलीको सहभागिता रहेको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, हाई स्कोरर लगायतका विभिन्न विधामा पनि पुरस्कार दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *