प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विभागीय टाेली नेपाल पुलिस क्लबलाई २६६ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
माथिल्लाे मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेकाे बागमतीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २६५ रनकाे प्रतिस्पर्धात्मक योगफल तयार पारेको छ । इशान पाण्डे र पवन थापाले चौथो विकेटका लागि १२४ रनको शतकीय साझेदारी गरेका थिए ।
बागमतीका लागि इशान पाण्डेले ८० बलमा ७० रनको उत्कृष्ट इनिङ्स खेले भने पवन थापाले १०१ बलमा ७९ रन जोड्दै टोलीलाई मजबुत स्थितिमा पुर्याए । सुरुआती क्रममा आशुतोष घिरैयाँ (२२), शुभ कंसाकार (१४) र शिवम तिवारी (१२) ले सामान्य योगदान दिए। मध्यक्रममा विवेक मगर (७), उत्तम मगर (२१) र प्रतिश जिसी (५) ले सानो–सानो योगदान गरे। कप्तान सन्दीप लामिछानेले १२ बलमा १३ रन बनाए ।
अतिरिक्ततर्फ बागमतीले १७ रन प्राप्त गर्यो । बलिङतर्फ पुलिसका राशिद खान र दिनेश खरेलले समान ३ विकेट हात पारे । भने करण केसीले २, ललित राजवंशीले १ विकेट लिए ।
