काठमाडौं । सहिद स्मारक महिला लिगअन्तर्गत दोस्रो दिनको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रभावशाली प्रदर्शन गर्दै विजयी सुरुआत गरेको छ ।

ललितपुरस्थित च्यासल रंगशालामा बिहीबार सम्पन्न खेलमा पुलिसले चर्च ब्वाइज युनाइटेडलाई ५–० को फराकिलो अन्तरले पराजित गर्‍यो ।

पुलिसको जितमा मिना देउवा र रेखा पौडेलले समान दुई–दुई गोल गरे भने कप्तान अमृता जौशीले एक गोल थपिन् । खेलको सुरुवातदेखि नै आक्रामक देखिएको पुलिसका लागि मिना देउवाले १२औं र १८औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाइन् ।

पहिलो हाफको अन्त्यतिर ४२औं मिनेटमा रेखा पौडेलले गोल थप्दा पुलिस ३–० ले अघि बढ्यो । त्यसको एक मिनेट नबित्दै कप्तान अमृता जौशीले गोल गर्दै पहिलो हाफमै पुलिसलाई ४–० को मजबुत अवस्थामा पुर्‍याइन् ।

दोस्रो हाफमा चर्च ब्वाइजले खेल सुधार्ने प्रयास गरे पनि प्रभावकारी आक्रमण गर्न सकेन । ५१औं मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसको ५–० को जित सुनिश्चित गरिन् ।

यस जितसँगै नेपाल पुलिस क्लबले प्रतियोगितामा तीन अंक जोड्दै सुरुआत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *