इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्ड कप फुटबल प्रतियोगिता शनिबार देखि सुरु भएको छ । शनिबार भएको उद्घाटन तथा पहिलो क्वाटरफाइनल खेलमा केराबारी फुटबल क्लब मोरङले विजयी सुरुवात गरेको छ ।
जलथल फुटबल क्लब झापालाई ३–० गोलले पराजित गर्दै केराबारी फुटबल क्लब मोरङले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ ।
खेलको १३औं मिनेटमा ओशन राईले गोल गर्दै केराबारीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ५१औं मिनेटमा भुवन बस्नेतले अग्रता दोब्बर पारे । अनील परियारले ८०औं मिनेटमा तेस्रो गोल गर्दै केराबारीको जित सुनिश्चित गरे ।
उत्कृष्ट प्रदर्शन गरेका केराबारीका ओशन राई खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ५ हजार ५ सय रुपैयाँसहित मेडल प्राप्त गरे ।
त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चित्र मेहताले गरेका थिए ।
प्रतियोगिताअन्तर्गत आइतबारको दोस्रो क्वाटरफाइनल खेल बसाहा क्लब उदयपुर र न्यु स्टार क्लब बराहाक्षेत्र सुनसरीबीच हुने आयोजकले जानकारी गराएको छ ।
